चट्याङ लागेर दुई जनाको मृत्यु, सातजना घाइते

41

पर्वत, वैशाख १८ । पर्वतका छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आइतबार साँझ झरीसँगै परेको चट्याङले फलेवास नगरपालिका–११ पांग्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीकी ३६ वर्षीया धनकुमारी थापाको मृत्यु भएको हो ।

नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङको डर र बच्ने उपाय

– मणिरत्न शाक्य गर्मीयामको बेला प्रायजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालको विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको पाइन्छ । हुन त गर्मीयाममा मात्र नभई जाडोयाममा पनि चट्याङ पर्नेगर्छ तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्नेगर्छ । गृह मन्त्रालयबाट प्रकाशित सन् १९८३ देखि २०१० सम्मको चट्याङ सम्बन्धी तथ्याङ अनुसार नेपालमा बार्षिक सरदर ३४ जना मानिसको ज्यान हुरीबतास तथा चट्याङबाट मात्र जाने गर्छ । चट्याङ एक किसिमको बिजुलीको धार हो जुन वायुमण्डलमा देखापर्ने गर्छ । वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा सो भन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणी क्षण भरमै मृत्यु हुने गर्छ । आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्याधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताईदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी विजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न थाल्छ ।

आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन एक्कासी वृद्धि हुन थाल्छ जसले गर्दा त्यहँ“ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघ गर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज आउने गर्छ ।

चट्याङ आकाशमा क्यूमलोनिम्बस नामको एक किसिमको वादल निर्माण हुनेवेला मात्र देखा पर्ने गर्छ । यस्तो वादलको स्वरुप कालो हुने गर्छ भने यस्तो वादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ । क्यूमलोनिम्वस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ भैरहेको हुन्छ । त्यही कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान अत्यन्त कम हुने गर्छ । कहिलेकाही वायुमण्डलीय तापमान ४० डिग्री सेल्सियस वा सोभन्दा कम पनि हुने गर्छ । यो बादलको उचाई ठाउ“ अनुसार फरक फरक हुने गर्छ भने भूमध्य रेखा आसपास अर्थात् उष्ण प्रदेशतिर २० किलोमिटर वा सो भन्दा बढी पनि हुने गर्छ । यो बादल यसरी बाक्लो भएकै कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरीबतास तलमाथि चलिरहन्छ ।

कालान्तरमा यही हुरीबतास वादलबाट वाहिर निस्कन थालेपछि पृथ्वीको सतहमा आ“धिवेहरी चल्ने गर्छ । पुनश्च: वादलभित्र हावा तलमाथि भईरहने कारण त्यस बादल भित्र रहेको पानीको थोपा, बरफ, असिना तथा हिउ“ आदि बीच एक आपसमा घस्रन हुन थाल्छ जसले गर्दा बादल भित्र घनात्मक र ऋणात्मक चार्जको विकास हुन थाल्छ । बादल भित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण बन्छ । यीनै चार्जहरु बीच आकर्षणले आकाशमा बिजुली चम्कने गर्छ ।

सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ । यस्तो चट्याङबाट मानवीय हानी नोक्सानी हुने गर्दैन । तर जव आकाशमा छिटो छिटो बिजुली चम्कने र क्षण क्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ । यस्तो वेला हुरीबतास चल्न थाल्यो र पानी पर्न थाल्यो भने चट्याङबाट हानी नोक्सानी हुने खतरा बढी हुन्छ । किनभने वादलबाट निस्कने हुरीबतास र वर्षा संगसँगै विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रवाहित हुन थाल्छ । यस्तो वेला पानीमा भिज्ने व्यक्ति वा जो कोही प्राणीलाई पनि करेन्ट लाग्ने डर अत्याधिक मात्रामा हुन्छ र यस्तो बेला मानिसको ज्यान समेत जाने सम्भावना हुन्छ । त्यसैले हुरीबतास संगस“गै पानी परेर चट्याङ परी रहेको वेला वाहिर निस्कनु खतरनाक हुन्छ । तर पानी रोकिइ सकेपछि भने चट्याङको डर हुँदैन ।

चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकोले पहाडको उच्च भागमा चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ । त्यही कारण पहाडको उच्च स्थानमा निर्मित घर, टहरा, गोठ आदि चट्याङको निशाना बन्न सक्ने डर हुन्छ । त्यस्तै रुख चट्याङको तारो बन्न सक्ने डर बढी हुन्छ । त्यसलेै रुखमुनी ओत लिनु खतराजनक हुन्छ भने विजुलीको खम्बामुनी बस्नु पनि खतरा नै हुन्छ । त्यस्तै चट्याङ परेको वेला खुल्ला आकाशमूनि हिडडुल गर्नु, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ ।

पुनश्च: चट्याङ पर्ने वेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुन सक्ने भएकोले फलाम वा धातु हातमा लिइ हिड्नु खतरा हुन्छ । चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु हो । पक्की घर र त्यसमा पनि छानामा लाइटनिङ एरेष्टर लगाएको घर सबभन्दा उत्तम मानिन्छ । यदि घर बाहिर हो भने मोटरगाडी भित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ । मोटरको टायरले बिद्युतीय धारलाई भू–सतहसंगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन । तर चट्याङ पर्ने बेला कतै सहारा लिने ठाउ छैन भने घुडाले भूर्ईमा टेकेर हात टाउको माथि राखी निहुरिएर बस्नु उचित मानिन्छ । तर भूर्ईमा लम्पसार पर्ने वा सुत्ने गर्नु हुदैन । यसले चट्याङको खतरा झन् बढी हुने गर्छ । चट्याङ परीरहेको बेला टेलिभिजन, एरकन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु खतरा मानिन्छ । लेखक बरिष्ठ मौसमविद हुनुहुन्छ

Loading...