बिहेको भोलिपल्ट दुबई हिँडेकी मायाको सिरियामा ज्यान गयो, उद्धार गर्नै भ्याइएन

259

फागुन १९ – दुबई हुँदै सिरिया पुगेकी सिन्धुपाल्चोक थाङपालधापकी माया लामाको उद्धार गर्न नपाउँदै ज्यान गएको छ । १७ महिनाअघि दुबई पुगेकी मायाको गएको शुक्रबार ज्यान गएको हो । उहाँको ज्यान गएको खबर मायालाई उद्धार गर्न पहल गरिरहेका कतारमा रहेका कृष्णबहादुर प्रधानले जानकारी दिनुभएको हो । मायालाई उहाँकै मामा थाङपालधापका अर्जुन लामाले दुबईमा कम्पनी क्लिनरमा काम लगाइ दिने भन्दै पठाएका थिए । तर दुबई पुगेपछि उहाँले कम्पनीमा होइन घरमा काम पाउनुभयो । काम त पाउनुभयो तर घरको साहुले शारीरिक र मानसिक तनाव दिएको भन्दै उहाँले कतारमा रहेका सिन्धुपाल्चोकको घुम्थाङ–७ का कृष्णबहादुर प्रधानलाई आफ्नो समस्या सुनाउनुभयो । नेपालमै हुँदाको चिनजानका आधारमा समस्या थाहा पाएपछि कृष्णबहादुरले दुबईमा हुँदा नै उद्धार गरेर नेपाल फर्काउने प्रयास गर्नुभयो । त्यसबेलासम्म तीन महिना भइसकेको थियो ।

तीन महिनापछि मायाले मामालाई फोन गर्नुभयो । मामाले अर्को ठाउँमा काम लगाइदिने आश्वासन दिए तर आश्वासन विपरित उहाँलाई दुबईकै अर्को ठाउँमा काम लगाइदिनुको साटो सिरिया पु¥याइयो । समस्या समाधान हुनुको साटो अर्को समस्या थपिएपछि उहाँले सिरियाबाटै सिन्धुपाल्चोकको चौतारामा रहेको सूचना तथा परामर्श केन्द्रमा फोन गर्नुभएको थियो । ‘उहाँले फोन गर्दा मामाले अर्को ठाउँमा काम लगाइदिन्छु भनेका थिए तर मलाई त सिरिया ल्याए भन्नुभएको थियो’ सूचना केन्द्रकी परामर्शकर्ता अस्मिता लामाले भन्नुभयो । उद्धारका लागि पीडित आफैले फोन गरेपछि सूचना केन्द्रले पनि उहाँको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति –पिएनसिसी) मार्फत पहल गरेको थियो ।

सिरिया पुगेपछि पनि कृष्णले दिएको नम्बरमा आमाले उहाँसँग कुरा गरिरहनुहुन्थ्यो । तर तीन हप्तादेखि छोरीसँग गफ गर्न पाउनुभएको थिएन आमा माइली तामाङले । यही बिचमा कृष्णबहादुर प्रधानले मायाको निधन भएको खबर सूचना केन्द्रलाई गराउनुभएको हो । ‘तर हामीले उद्धार गर्न पाएनौं’ सूचना केन्द्रकी परामर्शकर्ता अस्मिता लामाले भन्नुभयो । सिरिया पुगेको ८ महिना नबित्दै पु¥याइएकी मायाको ज्यान गएको खबर सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता अस्मिता लामालाई कतारमा रहेका घुम्थाङ–७ का कृष्णबहादुर प्रधानले गराउनुभएको हो । प्रधानले सिरियामा रहेकी मायाको भाइवर नम्बरबाट आफूलाई फोन आएको भन्दै निधनको खबर सुनाएको अस्मिताले जानकारी दिनुभयो । पिएनसिसीमा पनि सिरियाबाट मायाको निधनको खबर आएको सीता पन्तले जानकारी दिनुभयो ।

 

श्रीमान दुबईमा, घरमा आमा एक्लै माया लामाको घरमा आमा मात्रै हुनुहुन्छ । उहाँका श्रीमान तोकबहादुर तामाङ दुबईमा हुनुहुन्छ । तोकबहादुर दुवई गएको मंसिरमा दुबई जानुभएको थियो । तोकबहादुरको मायासँग दोस्रो बिहे हो । उहाँकी जेठी श्रीमतीको २०७२ वैशाख १२ गतेको भूइँचालोमा ज्यान गएको थियो ।

भूइँचालोले एक्लो बनाएपछि उहाँले मायालाई जिन्दगीको साथी त रोज्नुभयो । तर माया बिहे गरेकै भोलिपल्टै विदेश हिँड्नुभयो । ‘बिहे गरेको भोलिपल्टै भिसा आयो भनेर हिँडेकी थिइन ।’ दुबईमा रहेको तोकबहादुरले सुनाउनुभयो । तोकबहादुरकी जेठी श्रीमतीका दुई जना छोराछोरी छन् । उनीहरु अहिले मावलमा छन् । श्रीमतीको ज्यान गएको खबर तोकबहादुरले दुबईमै सुन्नुभएको छ । तर गएको ३ महिना पनि नपुगेकाले फर्किने नफर्किने निश्चित छैन । मायाको निधनले आमा माइली तामाङ एक्लै बनाएको छ । तर अब त न छोरी रहिन न त ज्वाईं नै साथमा हुनुहुन्छ । त्यसैले उहाँसँगै बोल्ने शब्द पनि छैनन् ।

मायाको शव ल्याउन प्रक्रिया सुरु गरिँदैछ । उहाँको शव ल्याउन आफन्तले नै निवेदन दिनुपर्ने भएकाले त्यसका लागि केन्द्रमा आउन माइली तामाङलाई बोलाएको र उहाँले निवेदन दिएपछि शव ल्याउन प्रवासी नेपाली समन्वय समिति पिएनसिसी मार्फत प्रक्रिया सुरु गर्ने केन्द्रले जनाएको छ ।

Source : Ujjyalo

Loading...